
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव महेश बस्नेत एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। आइतबार राति बसेको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो।
बस्नेतले आफू एकल उम्मेदवारका रूपमा सिफारिस भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन्। उनले उम्मेदवारी सिफारिस प्रक्रिया सहज बनाउन आफ्नो दाबेदारी फिर्ता लिने राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई धन्यवाद दिएका छन्।
फेसबुकमा उनले लेखेका छन् कि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ आफ्नो नाम सर्वसम्मत रूपमा सिफारिस हुन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्छु। उनले दाबेदारी त्याग गर्ने अनुभवी नेता राजेन्द्र राजथला र युवा नेता अनिल श्रेष्ठको विशेष योगदानको प्रशंसा गरेका छन्।
त्यस्तै, उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन भूमिका खेलेको राष्ट्र सम्सेर थापाको संयोजकत्वमा रहेको एमाले क्षेत्रीय समन्वय समिति, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पार्टी कार्यकर्ताप्रति पनि बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे