
काठमाडौँ, ६ बैशाख । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। उक्त मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ ।
आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ ।
कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनी ऐन २०६३ द्धारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाएको छ ।
कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । जसमध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे