
काठमाडौँ, २० चैत । भक्तपुरमा बिस्का जात्रा अन्तर्गत मध्यपुर थिमि बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका छन् । नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो ।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो । सुजनले यसअघि गत बर्ष २०८० सालमा पहिलोपटक जिब्रो छेडेका थिए।
जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ ।
जात्रामा नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुने गर्दछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे