
काठमाडौँ । आजदेखि नागढुंगा–नौबिसे (मलेखु) सडक खण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। नागढुंगा–मुग्लिन सडक योजनाअनुसार काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड भाग सडक साँघुरो भएकाले कालोपत्रे गर्न ठूला मेसिन र भारी सवारी प्रयोग गर्नुपर्ने भएकोले केही समय यातायात रोक्ने निर्णय गरिएको हो।
आजदेखि पुस १ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सवारी चल्न पाउने छैनन्। यस अवधिमा यात्रु र चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ।
एम्बुलेन्स, दमकल, शववाहन र सुरक्षा निकायका सवारी साधन भने आवश्यक परेमा ट्राफिक प्रहरीले सहजीकरण गर्ने बताइएको छ। काठमाडौंबाट नौबिसेतर्फ जाने गाडी नागढुंगा चेकपोस्टमा रोकिनेछन् भने मुग्लिनबाट काठमाडौं आउने सवारी खानीखोला, नौबिसे, जंगेखोला र थाक्रेमा रोकिने व्यवस्था गरिएको छ।
नौबिसेबाट मुग्लिनतर्फ जाने सवारी गल्छी, बैरेनी र मासटारमा रोकिनेछन् भने मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी मलेखुमा रोकिनेछन्। साना र मझौला सवारीले सीतापाइला–रामकोट–भीमढुंगा–धार्के, सामाखुसी–टोखा–छहरे–गल्छी तथा त्रिशुली नदी पारीको वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे