
बेइजिङ / ल्हासा (एजेन्सी)। चिनियाँ शल्यचिकित्सकहरूले विश्वकै पहिलो पटक ३,१०० माइल (५,००० किलोमिटर) टाढाबाट रिमोट रोबोटिक लिभर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। उपग्रह संचारमार्फत गरिएको यो ऐतिहासिक शल्यक्रियाले आपतकालीन स्वास्थ्य सेवा र दुर्गम क्षेत्रका बिरामीहरूका लागि नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।
प्रोफेसर रोङ लियूको नेतृत्वमा भएको यो अपरेसनमा उपग्रह संचारका सामान्य ढिलाइ समस्याहरूलाई adaptive latency correction, dual-link redundancy र smart bandwidth allocation प्रविधिहरू प्रयोग गरी समाधान गरिएको थियो।
उपग्रहमार्फत सञ्चार गर्दा कहिलेकाहीँ सन्देश पुग्न ढिलो हुन सक्छ, जसले रोबोटिक शल्यक्रियामा समस्या ल्याउन सक्छ। यस्तो ढिलाइलाई स्वचालित रूपमा पत्ता लगाएर सुधार गर्ने प्रविधिलाई ‘Adaptive Latency Correction’ भनिन्छ। यसले कम्प्युटरलाई स्मार्ट बनाउँछ र कहिले ढिलो, कहिले छिटो आउने संकेतहरूलाई सम्हालेर रोबोटलाई सही गतिमा काम गराउन मद्दत गर्छ। यस्तै, ‘Dual-Link Redundancy’ भनिने प्रविधिले एउटै इन्टरनेट वा उपग्रह जडानमा भर पर्नुका साटो दुईवटा जडानको सुरक्षा प्रणाली प्रयोग गर्छ। मुख्य जडान फेल भए पनि अर्को जडानले काम सम्हाल्ने भएकाले कुनै पनि अवस्थामा शल्यक्रिया रोकिदैन। यसरी इन्टरनेटको गतिको सही व्यवस्थापनका लागि ‘Smart Bandwidth Allocation’ प्रयोग गरिन्छ। शल्यक्रियाको समयमा भिडियो, आवाज र रोबोट सञ्चालन आदेशहरू जस्ता विभिन्न डाटाहरू एकै साथ पठाउनु पर्ने भएकाले सबैभन्दा जरुरी सूचनाहरूलाई प्राथमिकता दिइन्छ। यसले इन्टरनेट ट्राफिकलाई सडकमा ट्राफिक पुलिसले गाडीहरू मिलाएर चलाएजस्तै व्यवस्थित गर्छ, जसले गर्दा कुनै अवरोध बिना शल्यक्रिया सुचारु राख्न मद्दत पुग्छ।
यस प्रविधिले ६३२ मिलिसेकेण्ड ढिलाइ हुँदाहुँदै पनि रोबोटको शल्यक्रिया सटीकता ०.३२ मिलिमिटरभित्र कायम राख्न सक्षम बनायो।
डाक्टरहरू ल्हासाबाट Apstar-6D स्याटेलाइटको माध्यमबाट बेइजिङमा रहेका दुई बिरामीहरूको लिभर शल्यक्रिया गर्दै न्यूनतम रक्तश्रावसहित सफल अपरेसन सम्पन्न गरेका हुन्। दुबै बिरामीहरूमा कुनै जटिलता देखा परेन।
यो सफलताले भविष्यमा रोबोटिक सर्जरीलाई पृथ्वीबाट चन्द्रमा वा ९३,००० माइल टाढासम्म पनि विस्तार गर्न सकिने सम्भावनाको संकेत गरेको छ। यो प्रविधिले दुर्गम तथा आपतकालीन अवस्थाका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे