
काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा काम गर्दा आफूमाथि चारैतिरबाट आलोचना र आक्रमण भइरहेको बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो करिब ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको लोभमा नपरेको दाबी गरे।
ओलीले देशको विकास, राष्ट्रियता र स्वाधीनताको पक्षमा दृढ रूपमा उभिएकै कारण आफू निशानामा परेको बताए। उनले आफ्नो नेतृत्वमा नेपाल–भारत सीमा विवादमा मिचिएको भूभाग फिर्ता ल्याउने पहल, उत्तरी नाका खोल्ने काम र दक्षिणतर्फ हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र सुधार गर्न योगदान दिएको स्मरण गराए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई संकेत गर्दै एउटा पालिका समेत राम्रोसँग चलाउन नसक्ने व्यक्तिलाई देश चलाउने जिम्मा दिन नसकिने टिप्पणी गरे।
देश कुनै प्रयोगशाला वा मजाकको विषय नभएको भन्दै असफल र अनुभवहीन व्यक्तिलाई भोट दिनुपर्छ भन्ने सोच बनाउने प्रयासप्रति उनले असन्तुष्टि जनाए। ओलीले एमाले मात्रै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न सक्षम पार्टी भएको दाबी गरे। सुशासन, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र तीव्र विकास एमालेको मुख्य लक्ष्य भएको उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे