
काठमाडौँ, २७ फागुन – आजको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै छन्। सामान्यतया लोकतान्त्रिक प्रणालीमा प्रमुख प्रतिपक्षी दलका नेता प्रतिनिधि सभामा बोल्दा प्रधानमन्त्री र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलका नेता उपस्थित हुने परम्परा रहेको छ, तर आजको बैठकमा यो परम्परा उल्लङ्घन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली कोसी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न विराटनगर जानु पर्ने भएकाले उनी आज प्रतिनिधि सभामा उपस्थित हुने छैनन्।
सोमबार, सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबीच भएको छलफलमा प्रचण्डले आजको बैठकमा सम्बोधन गर्ने सहमति भएको थियो। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी गरेको जनाएको छ। ओलीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सकिएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन्। यसअघि, माघ २४ गतेको बैठकमा प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली अनुपस्थित थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे