
काठमाडौं, १८ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुधारका उद्देश्यले अध्यादेश ल्याइएको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै उनले भने, “अध्यादेश भनेको संसद् नभएको समयमा ल्याइन्छ,” र यसबारे रक्षा गर्दै भने, “केही साथीहरूले सोध्नुभएको छ, संसद् छल्नका लागि किन अध्यादेश ल्याइएको? अध्यादेश ल्याउने भनेको संसद् नचलेकै बेला हो।”
प्रधानमन्त्री ओलीका अनुसार, सुधारका लागि संसद् अधिवेशनको पर्खाइ नगरी तत्काल सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको थियो, त्यसैले अध्यादेश ल्याइएको हो। उनले थपे, “एकातिर प्रक्रिया, अर्कोतिर नतिजा प्राप्तिका लागि अध्यादेश ल्याइएको हो।”
अध्यादेशको पक्षमा बोल्दै उनले भने, “संसद् मा विरोधभन्दा गुण र दोषको आधारमा छलफल हुनु पर्छ।” उनले यसलाई अस्वीकार गर्न, संशोधन गर्न वा जस्ताको त्यस्तै पारित गर्न संसदको काम भएको कुरा स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले यस क्रममा २९ वटा ऐनहरूमा अध्यादेशमार्फत संशोधन गरिएको जनाए। यसमा आर्थिक र व्यावसायिक वातावरणको सुधार, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा, भूमि र वनसम्बन्धी मुद्दा, निजीकरण ऐन र सहकारी ऐन जस्ता महत्त्वपूर्ण क्षेत्रहरू समेटिएको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे