
काठमाडौं । योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नीति र नेतृत्वप्रति जनताले असन्तुष्टि व्यक्त गरेको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावपछि तीन दिनमा करिब एक हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकसँग फोन तथा सन्देशमार्फत कुरा गरेको बताए। ती कुराकानीबाट सुझाव, आलोचना, आक्रोश, निराशा र भविष्यका सम्भावनाबारे मिश्रित प्रतिक्रिया आएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार जनताले मतमार्फत पार्टीको हालको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेका छन्, र यो अहिलेको वास्तविकता भएको बताएका छन्। उनले पार्टीभित्र व्यापक रूपान्तरण आवश्यक रहेको र जनसमर्थन पुनः प्राप्त गर्न आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएको नीति सही नभएको भन्दै त्यसमा सुधार गर्न आफूहरूले पटक–पटक आग्रह गरेको तर सफल नभएको पनि बताए। अब पार्टीभित्र खुला बहस र छलफल गर्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी नेतृत्वदेखि विभिन्न तहका कमिटी र नेताहरूले लिनुपर्ने बताए। साथै सबै नेता र कार्यकर्तालाई गुटबन्दीभन्दा माथि उठेर एकजुट भई पार्टीलाई सुधार गर्ने प्रयासमा लाग्न आग्रह गरेका छन्।
“हामी ढलेका मात्र हौं, मरेका होइनौं,” भन्दै उनले सही नीति, संगठन र नेतृत्वका साथ पार्टी पुनः मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे