
काठमाडौं, – धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालले अमेरिकास्थित माउन्ट साइनाइ हेल्थ सिस्टमसँग सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विशेष भ्रमण कार्यक्रम आयोजना गरेको छ।
उक्त अवसरमा माउन्ट साइनाइ हेल्थ सिस्टमका प्रमुख कार्यकारी अधिकृत डा. ब्रेन्डन कार, ग्लोबल हेल्थ विभाग प्रमुख तथा आर्नहोल्ड इन्स्टिच्युट फर ग्लोबल हेल्थकी निर्देशक डा. राचेल भ्रेमनसहितको टोली नेपाल आएका थिए।
टोलीलाई धुलिखेल अस्पतालमा संस्थापक डा. रामकण्ठ माकाजु श्रेष्ठद्वारा स्वागत गरिएको थियो। भ्रमणको क्रममा अस्पताल परिसरको निरीक्षण, सामूहिक भेटघाट तथा स्वागत समारोह आयोजना गरियो।
टोलीले अस्पतालद्वारा सञ्चालित बालुवा स्वास्थ्य केन्द्रमा पुगेर समुदायमा आधारित स्वास्थ्य सेवा कार्यक्रमहरू अवलोकन गरे। त्यसक्रममा धुलिखेल अस्पताल र माउन्ट साइनाइको क्रिटिकल केयर टोलीबीच संयुक्त केस कन्फरेन्स समेत सम्पन्न भयो।
यस्तै, टोलीले पनौतीस्थित गर्भाशय र स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रमको अवलोकन गरे, जुन धुलिखेल अस्पताल र AMPATH बीचको सहकार्यमा सञ्चालन भइरहेको छ।
भ्रमणका क्रममा टोलीले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी सहकार्यका थप सम्भावनाबारे छलफल गरे।
यही अवसरमा टोलीले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा समेत सहभागिता जनायो। प्रमुख अतिथि रहेका डा. कारले दीक्षान्त समारोहमा प्रेरणादायी मन्तव्य दिँदै स्वास्थ्य, समानता, शिक्षा र अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यको महत्वबारे प्रकाश पारे।

धुलिखेल अस्पतालले यस भ्रमणमार्फत माउन्ट साइनाइ हेल्थ सिस्टमसँगको सम्बन्धलाई थप घनिष्ठ बनाउने विश्वास लिएको जनाएको छ। शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै दुवै संस्थाबीच सहकार्यको नयाँ अध्याय सुरु भएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे