
काठमाडौँ — वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले नेपालमा राजनीतिक बहसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले मुलुकको मिडिया स्वयं खुला रूपमा राजनीतिक पक्षपातको प्रतीक बनेको अवस्थामा टेलिभिजनमा गरिने तथाकथित ‘राजनीतिक डिबेट’को औचित्यमाथि प्रश्न गरेका हुन्।
पाण्डेका अनुसार वर्तमान मिडिया संरचना फरक–फरक राजनीतिक शक्तिको “गाडी” बनेको छ, जहाँ कोही एक ब्रान्डको प्रतिनिधित्व गरिरहेका छन् भने कोही अर्कोको। बाह्य रूपमा फरक देखिए पनि भित्री रूपमा तिनको गठजोड मिलेको र सहजै चिनिने खालको रहेको उनको टिप्पणी छ।
उनले यदि वास्तविक बहस नै गर्ने हो भने पहिला मिडियाको भूमिका, आचरण र जिम्मेवारीमाथि बहस हुनुपर्ने तर्क राखेका छन्। मिडियाकर्मीले नै प्रश्न सोध्ने अभ्यासले निष्पक्षता स्थापित गर्न नसक्ने उल्लेख गर्दै उनले सामान्य नागरिक—जस्तै राजमार्गमा गाडी चलाउने साधारण चालक—ले शीर्ष नेताहरू र मिडिया समूहलाई एउटै मञ्चमा राखेर प्रश्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
पाण्डेले यस्तो बहसबिनाको राजनीतिक संवादलाई ‘प्वाल परेको भाँडोमा पानी थाप्नु’ सरह निरर्थक ठहर गरेका छन्। उनले मिडियाको नग्न पक्षधरता नेपालमा मात्र होइन, विश्वका धेरै देशमा गम्भीर बहसको विषय बनेको उल्लेख गर्दै यसबारे गहिरो, बहुआयामिक सार्वजनिक छलफल अपरिहार्य रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे