
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको महाभारत जंगलमा फैलिएको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको सहारा लिइएको छ। स्थानीय प्रशासनका अनुसार आगो नियन्त्रणका प्रयास भइरहेका भए पनि प्रतिकूल मौसम र भौगोलिक चुनौतीका कारण आगो नियन्त्रणमा कठिनाइ उत्पन्न भएको छ।
बेथानचोक गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आन्तरिक र बाह्य पर्यटकसँगै सर्वसाधारणलाई उक्त क्षेत्रको भ्रमण नगर्न आग्रह गरेको हो।
गाउँपालिकाका अनुसार डढेलोका कारण नारायणस्थान मन्दिर र वडा नं. १, २, ३ र ५ का केही क्षेत्रसमेत उच्च जोखिममा परेका छन्। आगलागीको थप क्षति हुन नदिन र पर्यटक तथा स्थानीय बासिन्दाको सुरक्षाका लागि यस्तो निर्णय लिइएको जनाइएको छ।
जंगलमा फैलिएको डढेलोले ठूलो क्षेत्रफलमा क्षति पुर्याउँदै वनस्पति र वन्यजन्तुमा प्रत्यक्ष असर पारेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा र स्वयंसेवकहरूको टोली परिचालन गरिएको जानकारी दिएको छ।
डढेलोको तीव्रता र फैलावटलाई मध्यनजर गर्दै आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले डढेलो नियन्त्रणका लागि पानी छर्ने कार्य गरिरहेको छ। सेनाले आगो नियन्त्रण गर्न सकेसम्म चाँडो कदम चाल्न प्रयासरत रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे