
वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नागरिकता चाहने धनी व्यक्तिहरूका लागि ‘सुनौलो परिचयपत्र’ नामक नयाँ योजना प्रस्ताव गरेका छन्। यो योजना स्थायी बसोबास अनुमतिपत्रको विशेष संस्करण हुने बताइएको छ, जसका लागि इच्छुक व्यक्तिहरूले ५० लाख डलर (झन्डै ७० करोड) तिर्नुपर्नेछ।
ट्रम्प प्रशासनले यो योजनालाई धनी विदेशी लगानीकर्तालाई आकर्षित गर्न ल्याइएको बताएको छ। ओभल कार्यालयमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति ट्रम्पले वाणिज्य सचिव हावर्ड लुटनिकसँग कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उनले ‘सुनौलो परिचयपत्र’ स्थायी बसोबास अनुमतिपत्रकै परिष्कृत रूप भएको उल्लेख गर्दै यसले विदेशी लगानीकर्तालाई अमेरिका ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
यस योजनाका माध्यमबाट १० लाख परिचयपत्र बिक्री गर्ने लक्ष्य राखिएको छ। ट्रम्पका अनुसार यो योजना कार्यान्वयन भएपछि नागरिकता प्राप्त गर्न चाहने धनी व्यक्तिहरूले अमेरिकामा लगानी गर्न सक्नेछन्, जसले रोजगारी सिर्जनामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
ट्रम्प प्रशासनले यसअघि लागू रहेको विदेशी लगानी भिसा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसलाई हटाउने तयारी गरेको छ। वाणिज्य सचिव लुटनिकले सो योजनालाई कपटीपूर्ण र धोखाधडीयुक्त रहेको बताएका छन्। उनले ‘सुनौलो परिचयपत्र’ योजना विदेशी लगानी भिसाको सट्टा ल्याइएको स्पष्ट पारेका छन्।
यस योजनाको लाभ रुसी धनी व्यक्तिहरूले पनि लिन सक्ने ट्रम्पले बताएका छन्। उनले रुसी सम्भ्रान्त वर्गसमेत अमेरिकामा लगानी गर्दै आउने सक्ने सम्भावना रहेको बताएका छन्।
ट्रम्प प्रशासनको नयाँ प्रस्तावित योजना कार्यान्वयन भएपछि अमेरिकी नागरिकता पाउने प्रक्रियामा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे