
काठमाडौं — अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने तय भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त वार्ता महत्त्वपूर्ण हुने आशा व्यक्त गरेका छन्। तर, उनले वार्तामा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको उनले बताएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्ति मोडलमा छलफल गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।
गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। बहसका क्रममा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए।
अमेरिकाले हालै युक्रेनलाई सैन्य सहयोग रोक्ने निर्णय गरेको छ भने गुप्तचर जानकारी साझा गर्नसमेत बन्द गरेको छ। युक्रेनी राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्।
बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट माफी र कृतज्ञता व्यक्त गरिएको पत्र प्राप्त गरेको बताएका छन्। रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि हालसम्म युक्रेनी भूभागको करिब २० प्रतिशत नियन्त्रण गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे