
काठमाडौं । अमेरिका र इरानबीच बढ्दै गएको तनावबीच अन्ततः दुई देश दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन्। यो सहमति अन्तिम समयमा पाकिस्तानको कूटनीतिक पहलपछि सम्भव भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने तयारी भइरहेका बेला अचानक युद्धविराम घोषणा गरेका हुन्। यसअघि उनले इरानलाई आत्मसमर्पण गर्न वा ठूलो विनाश भोग्न चेतावनी दिएका थिए। आक्रमणका लागि समय सीमा पनि तोकिएको थियो, तर अन्तिम समयमा निर्णय परिवर्तन गरिएको हो।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षलाई शान्ति र वार्ताको बाटो रोज्न आग्रह गरेपछि सहमति बनेको बताइएको छ। युद्धविरामको सर्तअनुसार इरानले विश्वका लागि महत्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलडमरू सुरक्षित रूपमा खुला राख्नेछ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि दुई हप्तासम्म शान्ति कायम गर्ने र सुरक्षित आवतजावत सुनिश्चित गर्ने बताएका छन्। यस अवधिमा दुवै देशबीच थप वार्ता हुने र दीर्घकालीन समाधान खोजिने अपेक्षा गरिएको छ। इजरायलले पनि यो अस्थायी युद्धविरामलाई समर्थन गरेको छ।
पछिल्ला केही हप्तादेखि चलिरहेको तनावले विश्व ऊर्जा आपूर्ति र मध्यपूर्वको स्थिरतामा असर पारेको थियो। अब यो अस्थायी युद्धविरामले स्थिति केही सहज हुने आशा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे