
काठमाडौँ । अमेरिकी सिनेटमा सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण विधेयक पारित हुन नसकेपछि संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारले आंशिक रूपमा शटडाउन घोषणा गरेको छ। शनिबार मध्यरातपछि लागू भएको शटडाउनका कारण केही सरकारी सेवा प्रभावित हुने भए पनि यसको प्रभाव सीमित रहने अपेक्षा गरिएको छ।
ह्वाइट हाउस र सिनेटका डेमोक्रेटहरूबीच राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर चर्किएको राजनीतिक गतिरोधका कारण खर्च विधेयकमा सहमति जुट्न सकेन। विशेषगरी सुरक्षा विभागका लागि नयाँ बजेटबारे भएको वार्ता असफल भएपछि शटडाउनको अवस्था आएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय मिडियाका अनुसार मिनियापोलिसमा संघीय अध्यागमन एजेन्टद्वारा दुई जना प्रदर्शनकारीको मृत्यु भएको घटनाप्रति डेमोक्रेटहरू आक्रोशित बनेका छन्। यस घटनापछि ट्रम्प प्रशासनको सुरक्षा र आप्रवासन नीति थप विवादित बनेको छ।
यसैबीच, सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लागुऔषध तस्कर, बाल अपराधी र मानव बेचबिखनविरुद्ध केन्द्रित हुनुपर्ने सरकारी स्रोत शान्तिपूर्ण प्रदर्शनकारीलाई लक्षित गर्न प्रयोग गरिएको आरोप लगाएका छन्। उनले प्रशासनको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे