
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि जारी गरिने बी–१/बी–२ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अद्यावधिक सूचनाअनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न)(३) तथा अस्थायी अन्तिम नियमअन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू बी–१/बी–२ भिसाका लागि आवश्यक अन्य सबै मापदण्ड पूरा गरे पनि भिसा प्राप्त गर्न ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी रकम राख्नुपर्नेछ। यो प्रावधान नेपालका नागरिकहरूका हकमा पनि लागू हुने स्पष्ट गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार धरौटी रकमको निर्धारण भिसा अन्तर्वार्ताका क्रममा सम्बन्धित कन्सुलर अधिकृतले गर्नेछन्। आवेदकको यात्रा उद्देश्य, अघिल्लो भिसा इतिहास तथा समग्र जोखिम मूल्याङ्कनका आधारमा बन्डको रकम तोकिने व्यवस्था गरिएको छ।
भिसा बन्ड राख्न इच्छुक आवेदकले अमेरिकी गृह सुरक्षा विभागको तोकिएको फारम बुझाउनुपर्नेछ। साथै, अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणालीमार्फत बन्ड रकम तिर्न सहमति जनाउनुपर्ने प्रावधान समेत समावेश गरिएको छ।
अमेरिकी पक्षले यो नीति भिसा नियमको पालना सुनिश्चित गर्न तथा भिसा अवधि उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको जनाएको छ। नयाँ व्यवस्थाले नेपाली आवेदकहरूमाथि थप आर्थिक दायित्व थपिने भएकाले यसको प्रभावबारे सरोकारवाला निकायहरूमा चासो बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे