
एजेन्सी। – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको पुष्टि भएपछि अन्तर्राष्ट्रिय समुदायमा तीव्र प्रतिक्रिया आएका छन्। यस घटनाप्रति भेनेजुएलाका नजिकका सहयोगी रुस र चीनले कडा आपत्ति जनाउँदै यसलाई सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको रूपमा देखाएका छन्।
चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले जबर्जस्ती नियन्त्रणमा लिएर देशबाहिर लैजाने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। चिनियाँ पक्षले यस्तो कदम अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको जनाएको छ।
चीनको धारणा अनुसार, कुनै पनि सार्वभौम देशको निर्वाचित सरकारलाई बल प्रयोगमार्फत अपदस्थ गर्ने प्रयासले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वलाई गम्भीर जोखिममा पार्छ। यसले विश्व व्यवस्थामा नकारात्मक उदाहरण स्थापित गर्ने चेतावनी चीनले दिएको छ।
चीनले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी पत्नीको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न, उनीहरूलाई तत्काल रिहा गर्न तथा भेनेजुएलाको सरकार परिवर्तन गर्ने प्रयास बन्द गर्न आग्रह गरेको छ। साथै, सबै विवाद र समस्याको समाधान बल प्रयोग होइन, संवाद र वार्तामार्फत खोजिनुपर्नेमा चीनले जोड दिएको छ।
रुसले अमेरिकी कदमप्रति गम्भीर चासो व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने चेतावनी दिएको छ। चीनको विदेश मन्त्रालयले अमेरिकाको जबरजस्ती कदमले भेनेजुएलाको सार्वभौमसत्ता मात्र होइन, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षालाई पनि जोखिममा पार्ने उल्लेख गरेको छ।
क्युबाले पनि उक्त घटनाको कडा निन्दा गरेको छ। राष्ट्रपति मिगुएल डियाज–केनेलले यसलाई शान्तिपूर्ण क्षेत्रमाथि आपराधिक आक्रमण भन्दै अन्तर्राष्ट्रिय समुदायबाट तत्काल कारबाही आवश्यक रहेको बताएका छन्। युरोपेली संघले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ भने स्पेनले शान्तिपूर्ण समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको संकेत दिएको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको पालना गर्न जोड दिएका छन्।
बेलायतका प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी कारबाहीमा बेलायत संलग्न नरहेको स्पष्ट पारेका छन्। उनले सबै तथ्य सार्वजनिक भएपछि मात्रै धारणा बनाइने बताउँदै भेनेजुएलामा रहेका बेलायती नागरिकको सुरक्षा दूतावासमार्फत निगरानीमा रहेको जानकारी दिएका छन्।
ल्याटिन अमेरिकामा प्रतिक्रियाहरू मिश्रित देखिएका छन्। चिलीका राष्ट्रपति गेब्रियल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति चिन्ता र निन्दा व्यक्त गर्दै संकट समाधान संवाद र सहयोगमार्फत हुनुपर्ने बताएका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस कदमलाई “सहन नसकिने सीमा पार” भन्दै यसले हिंसा र अस्थिरता बढाउने चेतावनी दिएका छन्। अर्कोतर्फ, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेलीले अमेरिकी कदमको स्वागत गर्दै “स्वतन्त्रता अगाडि बढिरहेको छ” भनेका छन्।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणपछि पूर्वी एसिया क्षेत्रमा सुरक्षा चिन्ता पुनः बढेको छ। अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा जारी गरेको विज्ञप्तिमा ती प्रक्षेपणहरूले अमेरिकी सेना, भू–भाग वा उसका सहयोगी राष्ट्रहरूलाई तत्काल खतरा नपुगेको जनाएको छ। यद्यपि, अमेरिका र सम्बन्धित देशहरूले प्रक्षेपणको प्राविधिक विवरणलाई नजिकबाट अध्ययन गरिरहेको र पूर्ण तयारी अवस्थामा रहेको सेनाले स्पष्ट पारेको छ।
दक्षिण कोरियाको सियोलस्थित सुदूरपूर्व अध्ययन संस्थानका प्राध्यापक लिम उल–चुलले यी प्रक्षेपणलाई चीनप्रति पठाइएको सन्देशका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार उत्तर कोरियाले चीन र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध रोक्ने तथा आणविक निरस्त्रीकरणबारे चीनको धारणा विरुद्ध सन्देश दिन खोजेको हो। साथै, हालै अमेरिकाले भेनेजुएलामा गरेको हस्तक्षेपसँग आफूलाई तुलना नगरियोस् भन्ने सन्देश पनि उत्तर कोरियाले दिन खोजेको उनको विश्लेषण छ।
यस घटनाले भेनेजुएलाको संकट मात्र होइन, अन्तर्राष्ट्रिय राजनीति र दक्षिण अमेरिकी क्षेत्रमा गहिरो विभाजन र बहस सिर्जना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे