
काठमाडौं – नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको ‘वल्र्ड ट्राभल मार्केट २०२४’ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ। यो वैश्विक पर्यटन मेला कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्म सम्पन्न भएको हो।
नेपालले यस मेला मार्फत साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनको प्रवर्द्धन गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ। नेपाल पर्यटन बोर्डले ४० वर्षको सहभागिता वर्ष मनाउँदै, यस मेला मार्फत आफ्नो लामो समयदेखि पर्यटन क्षेत्रमा भएको योगदानलाई निरन्तरता दिएको छ।
डब्ल्यूटीएम २०२४ मा १८४ देशहरूबाट ४३ हजार सहभागी र ३ हजार ८७५ प्रदर्शक उपस्थित थिए। यस अवसरमा ८२ वटा सम्मेलन सत्रहरू समेत आयोजना गरिएको थियो। नेपालको यो सहभागिता विशेष महत्त्वपूर्ण बन्यो, विशेषगरी त्यसपछि जब लोन्ली प्लानेटले नेपाललाई २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा चयन गरेको थियो।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने, “नेपालको डब्ल्यूटीएममा सहभागिताले देशलाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाएको छ। यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको पंक्तिमा उभ्याएको छ।” उनले यस सहभागिताले नयाँ व्यवसायिक अवसरहरू सिर्जना गर्ने र नेपालको समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनको महत्त्वलाई बढावा दिने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
जोशीले भने, “लोन्ली प्लानेटको यो मान्यता नेपालका पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट अलग बनाउँछ। डब्ल्यूटीएममा नेपालको सहभागिताले देशका अनुपम परिदृश्यहरू – हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई प्रस्तुत गरेको छ, जसले आगन्तुकलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको छ।”
नेपाललाई साहसिक यात्रा, अध्यात्मिक पर्यटन र सांस्कृतिक सम्पदाको संयोजनका रूपमा प्रस्तुत गर्ने यो सहभागिता, नेपालको पर्यटन इमेजलाई थप बलियो बनाउनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। डब्ल्यूटीएममा नेपालबाट विभिन्न ट्राभल कम्पनी, होटल र रिसोर्टहरू पनि सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे