
काठमाडौँ । नेकपा एमालेभित्र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणलाई लिएर असन्तोष र विवाद देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूलाई टिकट नदिने संकेत गरेपछि पार्टीभित्र पक्षपात भएको आरोप उठ्न थालेको हो।
शनिबार बसेको एमाले सचिवालय बैठकले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि महाधिवेशनमा इतर समूहबाट उम्मेदवारी दिएका नेताहरूको हकमा निर्णय नगरी विवादको अवस्था सिर्जना भएको छ। अध्यक्ष ओली पक्षसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, गोकुल बाँस्कोटालगायत नेताहरूको जिल्ला सिफारिसलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ।
सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाए पनि केही संवेदनशील निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीले आफैं राखेको बताइएको छ। यसअन्तर्गत पोखरेल, भट्टराई, बाँस्कोटा र श्रेष्ठको निर्वाचन क्षेत्रसम्बन्धी अन्तिम निर्णय अध्यक्ष ओलीले नै गर्ने जनाइएको छ।
यसैबीच, टिकट नपाएका उपमहासचिव योगेश भट्टराईले पार्टी पंक्तिलाई धैर्य र एकताका साथ अघि बढ्न आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् उनले निर्णयप्रति असन्तुष्टि जनाउँदै पनि पार्टीभित्र एकता कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबैलाई सक्रिय हुन आह्वान गर्दै उनले एमालेको राजनीतिक यात्रा लामो र गौरवपूर्ण रहेको उल्लेख गरेका छन्।
महाधिवेशनमा इतर समूहबाट उपाध्यक्ष निर्वाचित गोकर्ण विष्टले भने गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। टिकट वितरण प्रक्रियाले पार्टीभित्र थप राजनीतिक बहस र समीकरण जन्माउने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे