
काठमाडौँ, वैशाख १७ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।
नेकपा (एमाले)बाट विभाजित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नौ महिनामा नै सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडेको छ । नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो ठूलो दल बने पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल ११६ दल दर्ता छन् ।
नेकपा (एमाले)को असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपियाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपियाँ खर्च छ । कुल आम्दानीमा चल/अचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा नेकपा (एमाले)ले ७८ सिट जितेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट सङ्ख्या ८९ छ ।
आर्थिक वर्ष २०७८/७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपियाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपियाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम नेपाली कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपियाँ दायित्व छ ।
संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) छ तर आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ ।
सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को आय र व्ययको विवरण दुईथरीको पाइएको छ । उक्त दलको आम्दानी नौ करोड ८६ हजार ६४ रुपियाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपियाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९७१ रुपियाँ बचत छ ।आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे