
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई मत हाल्नुपर्ने ३० कारण सार्वजनिक गरेको छ। झापा निर्वाचन क्षेत्र नं. ५ को क्षेत्रीय कमिटीले प्रकाशित गरेको अपिलमार्फत ‘ओलीलाई नै भोट किन?’ भन्ने शीर्षकमा ती कारणहरू प्रस्तुत गरिएको हो।
अपिलमा सुस्ताएको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने, कृषि क्षेत्रको विकासमार्फत खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने, उद्योगधन्दाको विस्तार गरी रोजगारी र उत्पादन वृद्धि गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। साथै निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग तथा हुलाकी सडक जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता पनि समेटिएको छ।
त्यसैगरी नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र सुदृढ बनाउने तथा विदेशी हस्तक्षेप रोक्ने विषयहरू उल्लेख छन्। अपिलमा नेपाली नागरिकको खस्किएको मनोबल उठाउने, विस्थापित सडक बालबालिकाको पुनर्स्थापना गर्ने लगायत समग्रमा सामाजिक, आर्थिक र राष्ट्रिय हितसँग जोडिएका ३० बुँदा समेटिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे