
एजेन्सी। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा युक्रेन, रूस र अमेरिकाका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई प्रमुख प्राथमिकताका रूपमा उठाइएको जानकारी दिएका छन्। करिब चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप उक्त वार्ता सञ्चालन भइरहेको हो।
संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयका अनुसार वार्ता शुक्रबार सुरु भई शनिबारसम्म चल्नेछ। मन्त्रालयले यसलाई संवाद प्रवद्र्धन तथा राजनीतिक समाधान खोजीको पहलका रूपमा व्याख्या गरेको छ। अमेरिकी प्रशासनले पनि वार्तालाई सकारात्मक र फलदायी भएको प्रतिक्रिया दिएको छ।
वार्ता सुरु हुनु अघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुशनरसँग लामो छलफल गरेका थिए। क्रेमलिनले दीर्घकालीन शान्ति सम्झौताका लागि युक्रेनले पूर्वी क्षेत्रमा रूसले कब्जा गरेको भूभागबाट आफ्ना सैनिक फिर्ता गर्नु आवश्यक शर्त भएको दोहोर्याएको छ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले डाभोसमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटपछि पूर्वी युक्रेनको भूभागको भविष्य अझै पूर्ण रूपमा स्पष्ट नभए पनि शान्ति प्रस्ताव ‘लगभग तयार’ भइसकेको बताएका छन्। उनले पूर्वी युक्रेनमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनाबारे ट्रम्पसँग छलफल भएको जानकारी पनि दिए।
अमेरिकी प्रशासनका अधिकारीहरूले एकैपटक युक्रेन र रूसका प्रतिनिधिसँग वार्ता गरेको यो पहिलो अवसर हो। टेलिभिजन सम्बोधनमा जेलेन्स्कीले आफ्नो प्रतिनिधिमण्डलले नियमित रूपमा वार्ताको प्रगति जानकारी गराइरहेको उल्लेख गर्दै युद्ध अन्त्यका मापदण्डहरूमा छलफल भइरहेको बताए। उनले युद्ध अन्त्यका लागि रूसको स्पष्ट इच्छाशक्ति निर्णायक हुने पनि बताए।
क्रेमलिनले भने वार्तालाई ‘सुरक्षा सम्बन्धी कार्य समूह’को बैठकका रूपमा मात्र व्याख्या गरेको छ। प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सेनाको डोनबास क्षेत्रबाट फिर्तालाई दीर्घकालीन शान्तिको अनिवार्य शर्तको रूपमा पुनः जोड दिए। रूसका परराष्ट्र सल्लाहकार युरी उषाकोभले वार्तालाई खुला, रचनात्मक र फलदायी भएको बताएका छन्।
वार्ताको केही घण्टा अघि डाभोसमा जेलेन्स्की र ट्रम्पबीच करिब एक घण्टा भेट भएको थियो। ट्रम्पले दुवै पक्ष सम्झौताको दिशामा अघि बढ्न इच्छुक रहेको दाबी गर्दै सीमा निर्धारण नै सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे।
डाभोसमा दिएको सम्बोधनमा जेलेन्स्कीले युरोपेली साझेदारहरूको ढिलो निर्णय, अपर्याप्त सुरक्षा खर्च, रूसका छायाँ तेल जहाज नियन्त्रणमा असफलता र युक्रेनप्रति कमजोर आर्थिक सहयोगप्रति आलोचना गरेका छन्। उनले युरोपले आफ्नो क्षमता सुदृढ गर्दै विश्वशक्तिका रूपमा भूमिका सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे