
काठमाडौँ , पुस ५ । मलेसियामा जारी महिला यु-१९ एशिया कपको ‘सुपर-४’ चरणमा आज नेपालले बङ्गलादेशसँग खेल्ने छ। यो खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा आयोजना हुँदैछ। सुपर-४ को पहिलो खेल बिहीबार वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अंक बाँडेका थिए। आजको खेल नेपालको लागि अत्यन्त महत्वपूर्ण छ, यदि नेपालले बङ्गलादेशलाई पराजित गर्यो भने फाइनलको यात्रा सुनिश्चित हुनेछ।
नेपालले सुपर-४ मा प्रवेश गर्ने क्रममा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए, जसका कारण रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बनेको थियो र नेपाल उपविजेता।
यस प्रतियोगितामा मलेसियासहित छ टोली भाग लिएका छन्। समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तान छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्। प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे