
एजेन्सी | टर्की र उत्तरी सिरियामा गरी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२,००० नाघेको बीबीसी समाचारमा उल्लेख छ । टर्कीको दक्षिणपूर्वी र सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार भूकम्प गएको थियो । भूकम्पमा परेर टर्कीमा ४० हजार बढी घाइते भएका छन् ।
उद्धार कार्य प्रतिकुल मौसमको कारणले प्रभावित भएको छ । भूकम्पले लगभग ७ हजार संरचना भत्किएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । छिमेकी मुलुक सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्याउने प्रयासहरू जटिल बनेका छन् ।
टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल–हवा, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ । संयुक्त राष्ट्रका एक जना वरिष्ठ अधिकारीले भने उक्त सडकमा चाँडै पहुँच हुन बताए । टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुका अनुसार देशमा सहायता भित्र्याउनका लागि सीमाका थप दुई वटा द्वारहरू खोल्ने काम भइरहेको छ ।
‘टर्की र अन्तर्राष्ट्रिय समुदायको सहायतामा सिरियासम्म पुर्याउने कार्यमा केही कठिनाइहरू छन् । त्यसैले थप दुई वटा सीमा द्वारहरू खोल्ने प्रयास भइरहेको छ,’ उनले भने । सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने बताएको छ । यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पुर्याउनु पर्ने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे