
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे क्यानडाबाट अमेरिका आउने सबै सामानमा धेरै कर लगाउने चेतावनी दिएका छन्। उनले क्यानडाले चीनसँग सम्झौता गरेमा क्यानेडियाली सामानमा १०० प्रतिशतभन्दा बढी कर तुरुन्तै लगाइने बताएका छन्। ट्रम्पले यो कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत बताएका हुन्।
ट्रम्पले कुन किसिमको सम्झौताको कुरा गरिरहेका हुन् भन्ने स्पष्ट भने छैन। केही दिनअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग व्यापार र कर सम्बन्धी सहकार्य गर्ने घोषणा गरेका थिए। त्यसबेला ट्रम्पले क्यानडाको कदमलाई सकारात्मक भनेका थिए। तर पछिल्लो समय अमेरिका र क्यानडाबीच सम्बन्धमा चिसोपन आएको छ।
यो तनाव कार्नीले डाभोसमा दिएको एक भाषणपछि बढेको हो, जहाँ उनले अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था कमजोर हुँदै गएको टिप्पणी गरेका थिए। ट्रम्पले कर कहिलेबाट लागू हुन्छ भन्ने मिति भने खुलाएका छैनन्।
समाचार एजेन्सी एपीका अनुसार ह्वाइट हाउसले यस विषयमा थप जानकारी दिएको छैन। अमेरिका र क्यानडाबीच पछिल्लो समय व्यापार सम्बन्धलाई लिएर मतभेद बढ्दै गएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे