
एजेन्सी — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलमाथि आक्रमण तीव्र पार्दै उनलाई तत्काल राजीनामा दिन सार्वजनिक रूपमा आह्वान गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै, “धेरै ढिलो भइसकेको छ — अब तुरुन्तै राजीनामा देऊ” भनेर लेखेका छन्।
ट्रम्पले उक्त पोस्टमा अमेरिकी संघीय आवास नियामकले फेडको वाशिंगटन मुख्यालयको मर्मतसम्भार सम्बन्धी पावेलको गवाहीको अनुसन्धान गरिरहेको समाचारको लिंकसमेत साझा गरेका छन्।
स्मरणीय छ, ट्रम्पले पहिलो कार्यकालमा जेरोम पावेललाई फेड अध्यक्षमा नियुक्त गरेका थिए। तर त्यसयता, पावेलले ट्रम्पको इच्छाविपरीत ब्याजदर कटौती नगरेको भन्दै उनले बारम्बार आलोचना गर्दै आएका छन्। यद्यपि, राष्ट्रपतिसँग फेड अध्यक्षलाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने अझै स्पष्ट छैन।
ट्रम्पले यसअघि वर्षको सुरुमा भनेका थिए कि तत्काल पावेललाई बर्खास्त गर्ने उनको योजना छैन। तर आर्थिक वृद्धिलाई गति दिन ब्याजदर घटाउन फेडले कदम चाल्नुपर्ने उनको भनाइ रहँदै आएको छ।
पावेलले भने, ट्रम्पको ट्यारिफ नीतिले बजारमा अनिश्चितता ल्याएको र त्यसको असर नभएको भए फेडले पहिले नै ब्याजदर कटौती गरिसकेको हुनसक्ने बताएका छन्। उनले पोर्चुगलमा आयोजित केन्द्रीय बैंकहरूका बैठकमा, यदि ट्रम्प प्रशासनले विश्वभर ट्यारिफ तीव्र रूपमा बढाउने योजना घोषणा नगरेको भए दर फेरि घट्ने सम्भावना रहेको बताएका थिए।
बीबीसीले जब फेडरल रिजर्भसँग ट्रम्पको टिप्पणीबारे प्रतिक्रिया माग्यो, फेडले कुनै टिप्पणी गर्न अस्वीकार गर्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे