
काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख व्यापार नीतिलाई अवैध ठहर गरेपछि ट्रम्पले कडा प्रतिक्रिया दिएका छन्। अदालतको फैसलापछि २४ घण्टाभित्रै उनले सबै देशबाट अमेरिका आउने सामानमा लाग्ने भन्सार कर अस्थायी रूपमा १०५ प्रतिशतदेखि १५५ प्रतिशतसम्म बढाउने घोषणा गरेका छन्।
अमेरिकी सर्वोच्च अदालतले गत वर्ष लागू गरिएको भन्सार शुल्कका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्ने फैसला गरेको थियो। यस फैसलाबाट असन्तुष्ट ट्रम्पले न्यायाधीशहरूको आलोचना गर्दै नयाँ कर तुरुन्तै लागू हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत धेरै देशहरूले लामो समयदेखि अमेरिकालाई नोक्सान पुर्याएको दाबीसमेत गरेका छन्।
ट्रम्पले सन् १९७४ को व्यापार ऐनको एक प्रावधान प्रयोग गरी १५० दिनसम्म यस्तो कर लगाउन सकिने बताएका छन्, तर यसले कानुनी चुनौती सामना गर्न सक्ने बताइएको छ।
यस विषयमा युरोपबाट पनि प्रतिक्रिया आएको छ। जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले ट्यारिफका कारण अर्थतन्त्रमा अनिश्चितता बढेको चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अदालतको निर्णय लोकतन्त्रका लागि सकारात्मक भएको भन्दै एकपक्षीय कर नीतिको विरोध गरेका छन्।
ट्रम्पको निर्णयले विश्व व्यापारमा थप अन्योल र तनाव बढ्ने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे