
काठमाडौँ। घना हुस्सु कुहिरोका कारण काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान ७:२० बजेदेखि अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल कार्यालयका अनुसार बिहान साढे ९ बजेसम्म विमान अवतरणका लागि आवश्यक न्यूनतम दृश्यता कायम हुन नसकेपछि उडान–अवतरण रोकिएको हो।
विमानस्थल स्रोतका अनुसार सो समयसम्म दृश्यता केवल ५०० मिटरमा सीमित रहेको थियो। आरएनपीआर प्रणालीमार्फत अवतरण गर्न कम्तीमा ११०० मिटर दृश्यता आवश्यक पर्छ भने भीओआर–डीएमई प्रणाली प्रयोग गर्ने विमानका लागि १६०० मिटर दृश्यता अनिवार्य हुन्छ। काठमाडौँबाट टेकअफका लागि समेत न्यूनतम १२०० मिटर दृश्यता आवश्यक पर्ने जनाइएको छ।
दृश्यता न्यून रहेकै कारण काठमाडौँ आउँदै गरेका केही अन्तर्राष्ट्रिय उडानहरू आकाशमै ‘होल्ड’ अवस्थामा राखिएका छन्। होल्डमा रहेका उडानहरूमा दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान, दुबई र दोहाबाट आएका हिमालय एयरलाइन्सका दुई न्यारोबडी विमान, भुटानबाट आएको ड्रुक एयरको न्यारोबडी विमान तथा दोहाबाट आएको कतार एयरवेजको वाइडबडी विमान रहेका छन्।
यसैबीच, घरेलु उडानहरूमा पनि व्यापक प्रभाव परेको छ। बुद्ध एयरका अनुसार विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलतर्फका उडानहरू प्रभावित भएका छन्। विमानस्थल कार्यालयले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे