
काठमाडौं —जनकपुरकी ७० वर्षीया एक महिला हृदयाघात भएपछि नर्भिक अस्पतालको मेडिकल टोलीले हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ। छाती दुख्ने र चक्कर आउने समस्या देखिएपछि महिलालाई जनकपुरस्थित जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिएको थियो।
उद्धार तथा उडानमै उपचार
नर्भिक अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्स अरविन्दकुमार शाह र दिनेश राईसहितको टोली आइतबार साँझ जनकपुर पुगेको थियो। टोली पुग्दा बिरामीको हृदयमा कम्प्लिट हार्ट ब्लक देखिएको र मुटुको चाल २५ भन्दा कम रहेको पुष्टि भयो।
जनकपुरमै प्रारम्भिक उपचार गरेपछि बिरामीलाई काठमाडौं ल्याउने क्रममा हवाई उडानमै हृदय पुनः रोकिएपछि सीपीआर र आकस्मिक उपचार दिइएको थियो।
काठमाडौंमा तयारी अवस्थामा उपचार टोली
बिरामी काठमाडौं पुग्दा नर्भिकको इमर्जेन्सी तथा कार्डियोलोजी विभागको टोली पूर्वतयारी अवस्थामा थियो। डा. नमिता अधिकारी र डा. रोशन शर्माको टोलीले ती महिलालाई इन्ट्युबेसन गरेर भेन्टिलेटरमा राख्यो। त्यसपछि प्रा. डा. यादव भट्टको नेतृत्वमा अस्थायी पेसमेकर राखिएको थियो।
बिरामीलाई त्यसपछि सीसीयूमा राखेर डा. प्रदीप तिवारी र डा. रोमन कार्कीको टोलीले उपचार जारी राख्यो।
एक दिनमै सुधार
अस्पतालका अनुसार, सोमबार नै बिरामीलाई भेन्टिलेटरबाट हटाइयो र पेसमेकर पनि फालिएको छ। अहिले बिरामीको अवस्था सुधारोन्मुख रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे