
एजेन्सी । मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका राज्यमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। मेक्सिकोको नौसेनाका अनुसार मेक्सिकोको खाडी र प्रशान्त महासागरको बीचमा यात्रा गरिरहेको रेल मोडमा पुग्दा पटरीबाट खसेको हो।
दुर्घटनाका बेला रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य सवार थिए। नौसेनाका अनुसार ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको राष्ट्रपति क्लाउडिया शेनबाउमले जानकारी दिएकी छन्।
निजान्डा शहर नजिकै मोडमा रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन्। घटनालगत्तै उद्धार कार्य सुरु गरिएको थियो। दुर्घटनास्थलबाट प्राप्त तस्बिरहरूमा उद्धारकर्मीहरूले यात्रुहरूलाई पटरीबाट खसेको रेलबाट सुरक्षित रूपमा बाहिर निकाल्न मद्दत गरिरहेको देखिन्छ। रेल आंशिक रूपमा भीरको छेउमा ढल्किएको अवस्थामा रहेको थियो।
प्रशान्त महासागरको सालिना क्रुज बन्दरगाहलाई खाडी तटको कोटजाकोआल्कोससँग जोड्ने इन्टरओसेनिक रेलमा दुई लोकोमोटिभ र चार यात्रुवाहक डब्बा रहेका थिए। मेक्सिकोको नौसेनाले देशको रेलवे नेटवर्क सञ्चालन गर्दै आएको छ। दुर्घटनाको कारणबारे मेक्सिकोका महान्यायाधिवक्ताले अनुसन्धान भइरहेको पुष्टि गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे