
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। विमानस्थल बन्द भएपछि, राति १० बजेपछि सुरु भएको मन्त्रीसहितको टोलीको निरीक्षण मंगलबार बिहान १ बजेसम्म जारी रह्यो।
निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ र ‘ह्याङ्गर एप्रोन’ जस्ता महत्वपूर्ण परियोजनाहरूको स्थलगत अवलोकन गर्दै, मन्त्री पाण्डेले प्राधिकरण अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामा भइरहेको कामलाई सन्तोषजनक रुपमा अघि बढिरहेको बताएका छन्।
उक्त आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र पूर्वतर्फको ह्याङ्गर एप्रोनको निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्दै गएको छ।
मन्त्री पाण्डेले विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको निर्माण कार्यलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भन्दै, समयमै काम सकिने विश्वास व्यक्त गरे। उनले कामको गति र निर्माणको गुणस्तरमा आत्मविश्वास व्यक्त गर्दै, जनशक्ति र उपकरणको प्रभावकारी परिचालनले निर्माण कार्यलाई तय गरिएको समयमै सम्पन्न गर्न मद्दत पुर्याउने बताए।
मन्त्री पाण्डेले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समय, अर्थात आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर कामको योजना पूरा गर्न सकिने संकेत दिइएको उल्लेख गरे। उनले वर्तमान निर्माण कार्यले समयमै काम सम्पन्न हुने सकारात्मक सन्देश दिने विश्वास पनि व्यक्त गरे।
उनले विमानस्थलका अन्य निर्माण परियोजनाहरूको तुलनामा त्रिभुवन विमानस्थलमा भइरहेको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै, समयमै निर्माण सकेर विमानस्थलको उडान सेवामा प्रभावकारी सुधार आउने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे