
नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋणको दायित्व २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार सार्वजनिक गरेको गत आव ०७९/८० सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
अघिल्लो आव ०७८/७९ सम्म सरकारले तिर्नुपर्ने ऋणको दायित्व २० खर्ब १३ अर्ब २९ करोड थियो । गत आवमा मात्रै दुई खर्ब आठ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । त्यसमा आन्तरिक ऋण एक खर्ब ४० अर्ब ८७ करोड र बाह्य ऋण ६७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यद्यपि, सरकारले गत आवमा मात्रै तीन खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ ऋण परिचालन गरेको छ ।
त्यसमा दुई खर्ब ५५ अर्ब ९९ करोड आन्तरिक र एक खर्ब २१ अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण प्राप्ति भएको तथ्यांकमा उल्लेख छ । यसरी ल्याइएको ऋणमा गत आवमा सरकारले आन्तरिकतर्फ एक खर्ब १५ अर्ब ११ करोड र बाह्यतर्फ ३४ अर्ब ६१ करोड साँवाबराबरको ऋण भुक्तानी गरेको छ ।
त्यसअनुसार सरकारको ऋण २२ खर्ब २१ करोड हाराहारी पुगेको हो । सरकारले गत आवमा दुई खर्ब ४२ अर्ब २६ करोड बाह्य र दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । त्यसअनुसार सरकारले लक्ष्यअनुसार ऋण परिचालन गर्न नसकेको देखिन्छ ।
आन्तरिक ऋण परिचालनको लक्ष्य करिब पूरा भए पनि बाह्य ऋण लक्ष्यअनुसार परिचालन गर्न नसकिएको हो । विशेष गरी पछिल्लो समय देखिएको विश्वव्यापी संकटले बाह्य ऋण लक्ष्यअनुसार परिचालन गर्न नसकेको विज्ञहरू बताउँछन् । सरकारले चालू आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोडबराबर ऋण उठाउने लक्ष्य राखेको छ । त्यसअनुसार चालू आवमा सरकारको ऋण २५ खर्ब हाराहारी पुग्ने सम्भावना देखिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे