
काठमाडौँ — चीनले आफ्नो एक उच्च सैन्य अधिकारी, जनरल झाङ युक्सिया, लाई भ्रष्टाचार र संवेदनशील जानकारी चुहावटको आरोपमा अनुसन्धानको घेरामा राखेको छ। उनी चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष तथा जनमुक्ति सेनाका वरिष्ठ अधिकारी हुन्। राष्ट्रिय रक्षा मन्त्रालयले अनुसन्धान सुरु भएको पुष्टि गरेको छ तर थप विवरण सार्वजनिक गरेको छैन।
अमेरिकी मिडिया द वाल स्ट्रिट जर्नलका अनुसार झाङमाथि संयुक्त राज्य अमेरिकामा चीनको आणविक हतियार सम्बन्धी संवेदनशील डेटा चुहावट गरेको, पदोन्नतिको लागि ठूलो रकम घूस लिएको, राजनीतिक गुट गठन गर्ने, अधिकार दुरुपयोग गर्ने र सैन्य खरिदमा भ्रष्ट अभ्यास गरेको आरोप छ। चीनको रक्षा मन्त्रालयले यी सबै आरोप सार्वजनिक रूपमा पुष्टि नगरेको छ।
७५ वर्षीय झाङलाई राष्ट्रपति सी जिनपिङको विश्वासिलो सहयोगी मानिन्थ्यो। उनको अनुसन्धान र पक्राउले चीनको सैन्य नेतृत्वमा ठूलो हलचल मच्चाएको छ। केही सामाजिक सञ्जाल रिपोर्टहरूमा झाङ र अन्य वरिष्ठ जनरलहरू हिरासतमा राखिएका, राष्ट्रपति सुरक्षा बलसँग झडप भएका र हजारौं सैनिक नियन्त्रणमा राखिएका दाबीहरू आएका छन्।
विशेषज्ञहरूका अनुसार यो कदम चीनमा भ्रष्टाचारविरुद्धको कडा सन्देश हुन सक्छ, तर यसले सैन्य र राजनीतिक क्षेत्रमा अस्थिरता पनि सिर्जना गरेको छ। झाङको अचानक पतन चीनमा विगत दशकमा भएको सबैभन्दा ठूलो सैन्य नियन्त्रण परिवर्तनहरूमध्ये एकको रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे