
काठमाडौं — एभरेष्ट बैंकले फागुन १८ गतेदेखि खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आवेदन दिने आज शुक्रबार (फागुन २३) अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको थियो। जसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने निर्णय गरेको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। त्यसमा ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ। बैंकले यसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले निर्वाह गरेको छ।
लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि दिन सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे