२९ असार काठमाडौँ |आदिकवि भानुभक्त आचार्यको आज २०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपालीमा भावनुवाद गरेका थिए ।
पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ – (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।
उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै – ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली,’ भन्दै कटाक्षसमेत गरेका थिए ।
भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना हुने गरेको छ। यस्तै दार्ज्लििङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।
संस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको परिचय भने मोतिराम भट्टले गराएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे