
काठमाडौँ, २ श्रावण । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।
आजका दिन व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।
हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।
साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो चुरा, हत्केला र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् ।
व्रत महिमा
पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।
दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।
शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे