
एजेन्सी । बङ्गलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनामाथि लागेका गम्भीर आरोपबारे अदालतले फैसला सुनाउनुअघि सोमबार देशभर कडा सुरक्षा व्यवस्था गरेको छ। हसिनामाथि गत वर्ष विद्यार्थी आन्दोलनको समयमा सयौँ मानिसको हत्या गराएको आरोप छ। उनी हाल भारतमा निर्वासनमा बसिरहेकी छन ।
अवामी लिग पार्टीले अदालतलाई ‘कङ्गारू कोर्ट’ भन्दै देशव्यापी बन्द आह्वान गरेपछि ढाका लगायतका क्षेत्रमा अर्धसैनिक बल र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ। अभियोजनकर्ताले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्ड माग गरेका छन्। तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुखले राज्यसँग सहकार्य गरेकाले उनलाई सजाय नदिन सुझाव गरिएको छ।
सन् २०२४ को आन्दोलनमा सयौँ नागरिक मारिएको भनिएको छ। संयुक्त राष्ट्रसंघले मृतक संख्या १४०० सम्म हुनसक्ने बताएको थियो, जबकि अन्तरिम सरकारले ८०० भन्दा बढी मृत्यु भएको स्वीकार गरेको छ। गत हप्तामा मात्र ५० भन्दा बढी आगजनी र बम धमाकाका घटना भएका थिए, जसमा दुई जनाको मृत्यु भयो।
ढाका महानगरीय प्रहरीका अनुसार ढाकामा लगभग १५ हजार प्रहरी तैनाथ गरिएको छ। हसिना विरुद्धको मुद्दाको फैसला प्रत्यक्ष हेर्न ढाका विश्वविद्यालयको विद्यार्थी-शिक्षक केन्द्रमा ठूलो स्क्रिन राखिएको छ। त्यहाँ धेरै मानिसहरू भेला भएका छन्। बांग्लादेश टेलिभिजनले फैसलाको प्रत्यक्ष प्रसारण गरिरहेको छ।
हालैको बन्दपछि देशभर कच्चा बम विस्फोट र आगजनी बढेपछि सोमबारका लागि फैसला तय गरिएको हो। अवामी लिगले आज पनि बन्द आह्वान गरेको छ। राजधानीमा कक्षा, यातायात र कार्यालयहरू धेरै प्रभावित छन्।
ढाकाका केही स्थानमा कच्चा बम विस्फोट भएको छ। प्रहरी प्रमुखले सवारी जलाउने वा बम फाल्ने देखिनेबित्तिकै गोली चलाउन निर्देशन दिएका छन्। यसैबीच, अदालतले सैन्य तैनाथीको अनुरोध गरेको छ। अदालतको फैसला टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनसक्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे