
मङ्गलवार बिहान चीनको चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ६.८ म्याग्निच्युडको भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको छ। यस भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १८८ जना घाइते भएका छन्।
बेइजिङ समय अनुसार बिहान ९:०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो। भूकम्पको केन्द्रविन्दु नजिकको २० किलोमिटरको दायरामा २७ गाउँ र लगभग ६,९०० मानिसहरू रहेका छन्।
प्रारम्भिक सर्वेक्षणअनुसार, ३,६०९ घरहरू भत्किएको देखिएको सिगाजे सरकारी निकायले जानकारी दिएको छ। ४०७ जना फसेका मानिसहरूलाई उद्धार गरिएको छ र ३०,००० भन्दा बढी प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
चीनका केन्द्रीय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा करीब २२,००० विपद् राहत सामग्री पठाएका छन्। ती सामग्रीहरूमा सुती पाल, शीतकालीन कोट, रजाई, फोल्डिङ बेड र उच्च उचाइ र चिसो वातावरणका लागि विशेष राहत सामग्रीहरू समावेश छन्।
यस भूकम्प स्थलमा उद्धार कार्यमा १२,००० भन्दा बढी अग्नि नियन्त्रक, सैनिक, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरू खटिएका छन्। नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे