
गण्डकी । बागलुङका सक्रिय युवा व्यवसायी निशान सापकोटाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को उद्घाटन खेलको लागि आफ्नो उत्साह व्यक्त गरेका छन्। पोखरा एभेन्जर्सको प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी र टिमको आफ्नै क्षेत्रसँगको सम्बन्धले उनलाई विशेष आकर्षित गरेको छ। उनले शनिबार काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलको टिकट पहिले नै किनिसकेको र आगामी प्रतियोगिता सम्पूर्ण खेलहरू हेरिरहने योजना बनाएको जानकारी दिएका छन्।
सापकोटाले एनपिएललाई नेपाली क्रिकेटको लागि एक महत्वपूर्ण माइलस्टोन मान्दै प्रतियोगिता निकै रोमाञ्चक र आकर्षक भएको बताए। यस प्रतियोगितामा भाग लिएका विश्व प्रसिद्ध क्रिकेट खेलाडी र शक्तिशाली टिमहरूको सहभागिताले देशभर क्रिकेटप्रेमीहरूको उत्साहलाई थप प्रोत्साहन दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यो पहिलो संस्करणका बारेमा क्यानका प्रवक्ता छुम्बी लामाले बताए अनुसार, प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। “एनपिएल आयोजनाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि प्राप्त गरेको छ। यसले नेपाली क्रिकेटप्रति जनचासो र समर्पणलाई बढाएको छ,” उनले थपे।
नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ मा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। क्यानका अनुसार हरेक टिममा चारदेखि छ जना विदेशी खेलाडीको सहभागिता रहनेछ।
एनपिएलको उद्घाटन खेल शनिवार विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ। आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा भाग लिएका टिमहरूले उच्चस्तरीय प्रतिस्पर्धा प्रस्तुत गर्नेछन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले यस प्रतियोगितालाई व्यावसायिक क्रिकेटको विकास र भविष्य निर्माणको दृष्टिकोणले महत्वपूर्ण मानेका छन्।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको नेतृत्वमा टिममा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी लगायतका खेलाडीहरू रहेका छन्। विदेशी खेलाडीहरूको सूचीमा अमृत गुरूङ (अमेरिका), बास डे लिडे (नेदरल्याण्ड्स), म्याट क्रिचली (इङल्याण्ड), रेमन राइफर (वेस्टइन्डिज) र माइकल लिस्क (स्कटल्याण्ड) समावेश छन्।
साथै, अन्य टिमहरूले पनि विश्वकप खेलाडीहरू सहित आफ्ना टिमको तयारी पूरा गरेका छन्। विराटनगर किङ्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ भने, चितवन राइनोजमा कुशल मल्ल र काठमाडौँ गुर्खाजमा करण केसी कप्तानको रुपमा रहेका छन्।
क्यानको प्रवक्ता लामाले यस प्रतियोगिता मार्फत नेपाली क्रिकेटको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यलाई स्पष्ट पारेका छन्। “एनपिएलले नेपाली क्रिकेटलाई एक नयाँ दिशा दिने विश्वासका साथ यो प्रतियोगिता आयोजना गरिएको छ,” उनले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे