काठमाडौं , १३ भाद्र । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो ।
आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो । यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो ।
सरकारले गत आर्थिक वर्ष २०७८-७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्झौता गरेको थियो । जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।
हाल निरन्तर चुलिएको सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋणभारसमेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकमा यस्तो औंल्याइएको हो ।
जसलाई हाल देखिएको २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ सार्वजनिक ऋणलाई नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको भार जनही ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ ।
यो खबर आजको राजधानी दैनिकमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे