
काठमाडौँ, ९ असोज – नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देललाई दर्जानी चिन्ह प्रदान गरेका छन्। समारोह राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भएको हो। यस अवसरमा प्रधान सेनापति सिग्देललाई सैनिक परम्परा अनुरूप सम्मानित गरिएको थियो।
मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्दैछन्। नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ।
यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए। सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृत रथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरुप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए।
राष्ट्रपतिले प्रधान सेनापति सिग्देललाई नेपालको सशस्त्र बलको नेतृत्वमा सफलता प्राप्त गर्नका लागि शुभकामना प्रकट गर्दै जनताको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नको लागि अपेक्षा व्यक्त गरेका छन्।
समारोहमा रक्षा मन्त्री, प्रमुख सचिव तथा उच्च पदस्थ सैन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे