
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउँसो १ः३० बजे आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनमा गभर्नर डा. विश्वनाथ पौडेलले औपचारिक रूपमा नीति सार्वजनिक गर्ने तयारी गरेका छन्। पौडेलको कार्यकालको पहिलो मौद्रिक नीति भएकाले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सेयर बजारका लगानीकर्ता र समग्र आर्थिक वृत्तले उच्च चासोका साथ यसलाई हेरेका छन्।
नीति सार्वजनिक गर्नु अघि बुधबार राष्ट्र बैंकको व्यवस्थापन समितिमा प्रारम्भिक छलफल सम्पन्न भइसकेको छ। सो छलफलपछि नीति सञ्चालक समितिबाट स्वीकृत भई अन्तिम तयारीमा पुगेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट मुलुकको समष्टिगत अर्थतन्त्र सन्तुलनमा राख्ने तथा दीर्घकालीन आर्थिक स्थायित्व कायम राख्ने लक्ष्य लिएको छ।
आगामी मौद्रिक नीतिबाट ब्याजदर व्यवस्थापन, तरलता सन्तुलन, कर्जा प्रवाह, मुद्रास्फीति नियन्त्रण, सेयर बजार सुधार र आर्थिक वृद्धिको स्पष्ट दिशा–निर्देशन आउने अपेक्षा गरिएको छ। यस नीतिले विशेषगरी बैंक तथा वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ भने निजी क्षेत्रले ऋण प्रवाह सहज हुने विश्वास लिएका छन्। त्यस्तै, सेयर बजारका लगानीकर्ताहरूले पूँजी बजारमैत्री नीति आउन सक्ने आकलन गरिरहेका छन्।
विशेषज्ञहरूका अनुसार मौद्रिक नीतिको प्रभाव तत्कालीन आर्थिक क्रियाकलापहरूमा देखिनेछ। राष्ट्र बैंकले आन्तरिक तथा बाह्य आर्थिक वातावरणको विश्लेषण गर्दै नीति तय गरेको हो, जसले नेपालको आर्थिक वृद्धिदरलाई सुदृढ बनाउन मद्दत गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे