
काठमाडौँ ,९ पुस | करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ। प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो। सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी गरिरहेका थिए। कतिपय सांसदले राजनीतिक भेटघाट तीव्र पारेका थिए।
संसद् सचिवालयमा संसदीय दलको कार्यालय थप गर्नुपर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीका लागि संसदीय दलको कार्यालय आवश्यक भएकाले नयाँ भवनमा मर्मत–संहार भइरहेको हो। अन्य दलका लागि भने पुरानै कार्यालय उपलब्ध गराइएको छ।
संसद् अधिवेशन कहिले बस्ने भन्ने निश्चित नहुँदा कतिपय सांसद जिल्लातर्फ फर्कने सोचमा छन्। सरकार गठन भएपछि संसद् अधिवेशन कहिले आह्वान हुन्छ, त्यसपछि मात्र जिल्ला फर्कने निर्णय गर्ने तयारीमा पनि सांसदहरू देखिएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे