
काठमाण्डौ। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवजात शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्र खुवाउनुपर्ने आमाको बिगौती दूधले बालबालिकालाई दीर्घकालीन रोगहरूको जोखिमबाट टाढा राख्न सहयोग पुग्ने जनाएको छ। मन्त्रालयले बाल मृत्युदर घटाउन र आमाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न स्तनपानलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरेको छ।
विज्ञका अनुसार, आमाको दूधमा शिशुका लागि आवश्यक सम्पूर्ण पोषक तत्व हुने भएकाले जन्मेपछि ६ महिनासम्म मात्र स्तनपान गराउनुपर्छ। त्यसपछि पोषिलो थप खाना सुरु गरी कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने मन्त्रालयको सुझाव छ।
मातृ-शिशु मैत्री अभियानअन्तर्गत मन्त्रालयले स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको अनुचित बजारीकरणलाई नियन्त्रण गर्ने कार्यमा जोड दिएको छ। मन्त्रालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरू कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै सबै सरोकारवालालाई ऐन प्रभावकारी बनाउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले सरोकारवालाहरुलाई उक्त ऐन र नियमावलीका दफाहरूका बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। मन्त्रालयले ऐन कार्यान्वयनका लागि सहकार्य गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे