
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न भनसुनात्मक खाद्य पदार्थ तथा न्यूट्रास्युटिकल उत्पादनहरूको भ्रामक प्रचारप्रसारबारे चासो व्यक्त गर्दै अनधिकृत बिक्री वितरणमा कडाइ गर्ने जनाएको छ। मन्त्रालयले यस विषयमा सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।
मन्त्रालयले हालै औषधि पसलहरूमा भिटामिन, क्याल्सियम, आइरन, म्याग्नेसियमजस्ता खनिज पदार्थ र सूक्ष्म पोषण तत्व (micronutrients) युक्त खाद्य वस्तुहरूलाई औषधिको रूपमा प्रचार गर्दै बिक्री गरिँदै आएको प्रति ध्यानाकर्षण गरेको छ। यस्ता उत्पादनहरूलाई विभिन्न स्वास्थ्य समस्याको समाधानका रूपमा प्रस्तुत गर्दै समाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममार्फत भ्रामक प्रचार गरिएको पाइएकाले मन्त्रालयले सो विषयमा आवश्यक कारबाही अघि बढाउने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कुनै पनि औषधि वा भनसुनात्मक खाद्य पदार्थहरूलाई वैज्ञानिक प्रमाणबिना उपचारको दाबी गर्दै बिक्री वितरण गर्न पाइँदैन। यस्ता कार्यहरू औषधि ऐनअनुसार कानुनी कारबाहीको दायरामा पर्ने भएकाले मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अनुगमन प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
मन्त्रालयले आम सर्वसाधारणलाई भ्रामक प्रचारमा विश्वास नगर्न र कुनै पनि औषधि वा पोषणसम्बन्धी उत्पादन उपभोग गर्नु अघि स्वास्थ्य व्यवसायी वा सम्बन्धित निकायसँग परामर्श गर्न अनुरोध गरेको छ।
यस्तै, स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा गुनासोका लागि मन्त्रालयले हेल्पलाइन नम्बर १११५, औषधि व्यवस्था विभागको सम्पर्क नम्बर ९८५१२५५८०२/९८५१२५५८०३ तथा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने जानकारी गराएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे