
काठमाडौँ । पछिल्लो समय नेपालमा तारे होटेल, रिसोर्ट र क्यासिनोको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। नेपालीहरूको खर्च गर्ने क्षमता बढेसँगै विभिन्न सभा, सम्मेलन तथा गोष्ठीहरू तारे होटेलहरूमा आयोजना हुने क्रम तीव्र भएको छ।
पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ मा २१२ होटल, १३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ। तारे होटेलहरूको वर्गीकरणमा ४७ एकतारे, ५२ दुईतारे, ४० तीनतारे, ३९ चारतारे, २३ पाँचतारे र ३ पाँचतारे डिलक्स होटेल रहेका छन्।
साधारण हेरिटेज–बुटिक होटल एक, डिलक्स हेरिटेज–बुटिक होटल तीन, र लक्जरी हेरिटेज–बुटिक होटल तीन गरी कूल २१२ होटलले विभागबाट अनुमतिपत्र प्राप्त गरेका छन्। साथै, ६ डिलक्स रिसोर्ट, १२३ साधारण रिसोर्ट, र ३ लक्जरी रिसोर्ट सञ्चालनमा छन्।
क्यासिनोको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। विभागका तथ्यांक अनुसार नौवटा ठूला क्यासिनो र १७ आधुनिक मेसिन वा उपकरणमार्फत सञ्चालन हुने मिनी क्यासिनोले अनुमति पाएका छन्। तर, तीनवटा क्यासिनो अदालतको स्थगन आदेशका कारण सञ्चालनमा छन्।
तारे होटेल र रिसोर्टहरूको वर्गीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७७ माघ ५ गते मापदण्ड तोकेको थियो। होटलको क्षेत्रफल, संरचना र सेवा सुविधाका आधारमा विभागले अनुगमन गरी स्तर निर्धारण गर्दै आएको छ।
देशभित्र र बाहिरका पर्यटकलाई लक्षित गरी लक्जरी होटल र क्यासिनोको संख्या बढ्नुले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे