
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई दिशा दिन सरकार नीतिगत रुपान्तरणतर्फ सक्रिय रहेको बताएका छन्। नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटनमैत्री नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको र छिट्टै नयाँ नीति सार्वजनिक हुने जानकारी दिए।
उनले पर्यटन क्षेत्रको विकासका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) अवधारणा प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय प्रवर्द्धन र डिजिटल मार्केटिङलाई प्राथमिकता दिन आग्रह गर्दै नेपालको मौलिक पर्यटन उत्पादनलाई विश्व बजारमा व्यापक रुपमा प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक समृद्धि सम्भव हुने भएकाले सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताए।
मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले पर्यटन पूर्वाधार विकाससँगै प्रविधिको उपयोग र पर्यटनका लागि जनशक्ति विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्र कोभिडपछिको रिकभरीतर्फ अग्रसर रहेको जनाउँदै सन् २०२४ मा साढे ११ लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक प्रस्तुत गरे। उनले विश्व पर्यटनको ९७ प्रतिशत पुनःस्थापनासँगै नेपालको पर्यटनले पनि ९६ प्रतिशत रिकभरी हासिल गरेको बताए।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले बोर्डले पर्यटन प्रवर्द्धनका लागि सबै सरोकारवालाको सहभागितालाई सुनिश्चित गर्दै गतिशील बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकस विमोचन गरिएको थियो। साथै, वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि नीतिगत सुधार गर्न आग्रह गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे