
काठमाडौं। चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुने भएको छ। आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा ९ वटा एजेन्डामा छलफल हुने बताइएको छ।
कार्यसूचि अनुसार, बैठकमा प्रमुख विषयहरूमा आर्थिक वर्ष २०८०।८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्थालाई गाभ्ने कार्यविधि सम्मका विषयहरू समावेश छन्। साथै, आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरूको सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने जनाएको छ।
बैठकमा अन्य महत्त्वपूर्ण विषयहरूमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण तथा छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छोडेका विद्यार्थीहरूको भविष्यवाणी र व्यवस्थापनबारे पनि चर्चा हुने कार्यसूचीमा समावेश छ।
यस बैठकमा आयोगका सदस्यहरू, प्रशासनिक अधिकारीहरू र अन्य सरोकारवालाले तिनीहरूको क्षेत्रका प्रमुख मुद्दाहरू प्रस्तुत गर्ने अवसर पाउने छन्। यस बैठकको निर्णयहरूले चिकित्सा शिक्षा क्षेत्रका महत्त्वपूर्ण कदमहरू तय गर्ने अपेक्षासमेत गरिएको छ।
चिकित्सा शिक्षा आयोगले नेपालको चिकित्सा शिक्षा व्यवस्थामा सुधार ल्याउनका लागि विभिन्न योजनाहरू र नीतिहरू तय गर्ने कार्य गर्दै आएको छ, जसले आगामी दिनहरूमा यस क्षेत्रको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे