
काठमाडौँ, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ।
बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ।
फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको थियो।
राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे आज नै निर्णय लिने तयारी गरेको छ।
राष्ट्रपति निर्वाचनमा मतदान सकिएलगत्तै मतगणना गरिने र आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। अपराह्न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनको परिणाम सार्वजनिक लगत्तै नयाँ राष्ट्रपतिलाई प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राति १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ।
यसपछि चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन तालिका रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे